वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठन विभागमा १० जना सदस्य थपिएका छन् । जसमा नेकपा भित्र प्रतिपक्षका रुपमा चिनिएका तथा खरो शैलीमा उत्रने स्थायी समिति सदस्य भीम रावल पनि परेका छन्।
यसअघि रावलले आफूलाई कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। रावल नेकपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज हुन् ।नयाँ सदस्यहरु थपिएलगत्तै सोमबार बसेको विभागको बैठकले महाधिवेशन लक्षित कार्ययोजना तयार गरेको छ । महाधिवेशनको मिति तय भैसकेकाले त्यसलाई आधार बनाएर विभागले आफ्नो कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।
‘महाधिवेशनको मिति तोकिसकेको अवस्थामा जटिल काम बनेको सदस्यता व्यवस्थित गर्ने काम चुनौतीपूर्ण छ । त्यसलाई व्यवस्थित गर्ने दिशामा अघि बढ्ने निर्णय भएको छ’ शाक्यको भनाइ छ ।
पछिल्लो पटक संगठन विभागमा १० जना सदस्यहरु थपिएपनि पूर्णता भने अझै भएको छैन । नेकपाको पार्टी नियमावलीअनुसार विभागहरू पूर्ण हुन ३५ सदस्य रहनुपर्नेछ । नेकपाको यो विभागका प्रमुख वामदेव गौतम हुन् । आइतबार बसेको सचिवालय बैठकमा विभाग प्रमुख गौतमले सिफारिस गरेका नामहरुलाई अनुमोदन गरेको हो ।
तेस्रो पटक संगठन विभागमा थपिएका सदस्यहरुमा भीम रावल, भीम आचार्य, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, मातृका यादव, सत्यनारायण मण्डल, खगराज भट्ट, सुदन राई, जगप्रसाद शर्मा र रेखा शर्मा छन् । पोखरेल प्रदेश ५ र सुब्बा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत हुन् ।
गत साउन ३ गते बसेको सचिवालय बैठकले संगठन विभागमा बामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख तोकेको थियो भने असोज २९ गते अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी थपिएका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
