सोमबार, माघ २७ २०७६    

३० वर्षयताकै भीषण वर्षा अस्ट्रेलियाको सिड्नीमा

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, माघ २७ २०७६
  • ३० वर्षयताकै भीषण वर्षा अस्ट्रेलियाको सिड्नीमा

    अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण सिड्नीमा यातायात सेवा अस्तव्यस्त बनेको छ भने जनजीवन नराम्ररी प्रभावित भएको छ। वर्षाका कारण हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन्।

    सिड्नीको मौसमसम्बन्धी जानकारी दिने निकायका अनुसार पछिल्ला चार दिनमा झन्डै ४ सय मिलिमिटर वर्षा भएको छ। सो निकायले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ। वर्षापछि अस्ट्रेलियामा करिब एक लाख घरमा विद्युत सेवा अवरुद्ध बनेको छ। वर्षाका कारण केही महिनायता न्यू साउथ वेल्स राज्यका विभिन्न स्थानमा फैलिएको भीषण डढेलो समेत निभेको छ।

    पछिल्लो विगत ७४ दिनदेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो पनि वर्षापछि निभेको छ। सो डढेलोका कारण ५ सय हेक्टर क्षेत्रफल प्रभावित भएको छ भने ३ सय १२ वटा घर नष्ट गरिदिएको थियो। मौसम विभागले डढेलो प्रभावित क्षेत्रहरू नै बाढीको बढी खतरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने चेतावनी दिएको छ। हाल न्यू साउथ वेल्समा ३१ वटा छुट्टाछुट्टै डढेलो लागिरहेको थियो।

    भीषण वर्षाका कारण वर्षौंदेखि सुक्खा बेहोरिरहेको सो क्षेत्रमा पानीको आपूर्ति प्रणालीमा भरथेग भएको छ। सिड्नीको अधिकांश पानीको माग पूर्ति गर्ने वारागाम्बा बाँध ७० प्रतिशत भरिन लागेको बताइएको छ। गत सातामात्र त्यहाँ जम्मा भएका ४२ प्रतिशत पानी भरिएको थियो।

    अस्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको न्यू साउथ वेल्स राज्यको सम्पूर्ण तटीय क्षेत्रमा हाल मौसमसम्बन्धी कडा चेतावनी जारी गरिएको छ।लसिड्नीमा मात्र कम्तीमा २ सय जना मानिसलाई आपतकालीन सेवाका कर्मचारीहरूले उद्दार गरेका छन्। सोमवार बिहान सिड्नीको रेल तथा डुंगा सेवा अवरुद्ध भएको थियो। सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौं प्ल्याटफर्म पानीमा डुबेका छन्।

    दर्जनौं स्कूल बन्द रहेका छन्।  सिड्नीमा बसोबास गर्ने मानिसहरूलाई सकेसम्म घरमै बस्न भनिएको छ। सहरका तल्ला भूभागमा बसिरहेकाहरूलाई त्यहाँबाट अन्यत्र जान वा जानको निम्ति तम्तयार रहन भनिएको छ। सेन्ट्रल सिड्नीमा सोमवार पानी रोकिएको छ। तर यो साताभरी थप वर्षा हुने त्यहाँको मौसम पूर्वानुमान गर्ने निकायले जनाएको छ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार