शनिबार, चैत्र २९ २०७६    
Galaxy Khabar
SKIP THIS

पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल, लकडाउनको समय लम्ब्याउनुपर्नेमा जोड

  • ग्यालेक्सी खबर डेस्क

    शनिबार, चैत्र २९ २०७६
  • पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल, लकडाउनको समय लम्ब्याउनुपर्नेमा जोड

    काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले देशभर लककडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शनिबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

    सो छलफलमा मुख्यमन्त्रीहरुले छिमेकी मुलुक भारतमा संक्रमणको खतरा बढिरहेकाले लकडाउनको समय लम्ब्याउनुपर्नेमा जोड दिएका छन् । अहिलेकै अवस्थामा लकडाउन खोलिए संक्रमण फैलिनसक्ने चिन्ता व्यक्त गर्दै लकडाउन केही समय थप गर्नुपर्ने उनीहरुको धारणा थियो । यस्तै स्वास्थ्यका क्षेत्रमा पूर्वाधारहरु थपिएको र अझ अत्यावश्यक पूर्वाधारहरु प्रदेशमा पनि बढाउन केन्द्र सरकारले अझबढी पहल गर्नुपर्नेमा सबै प्रदेशका मुख्यमन्त्रीहरुले जोड दिएका छन् ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारको एक्सन रुमबाट सबै मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोभिड १९ संक्रमणको नियन्त्रण रोकथाम र उपचारका सन्दर्भमा स्थानीय तह र सबै प्रदेशहरुमा भइराखेका कामहरुको जानकारी लिएका थिए । भिडियो कन्फ्रेन्समा मुख्यमन्त्रीहरुले कोभिड–१९का विरुद्धमा आ–आफ्नो प्रदेशमा भएका प्रयासहरुको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको नियन्त्रणका लागि नपुगेका प्रयासहरुमा जोड दिने र समन्वयात्मक रुपमा संघ, प्रदेश र स्थानीय सरकारबीच काम गर्नुपर्ने सन्दर्भमा छलफल भएको उनले बताए ।

    यस्तै अहिले भइराखेका प्रयासहरु समन्वयात्मक ढंगले अझ प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएको उनले बताए । प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाइ गरिने, लकडाउनलाई निरन्तरता दिने र ससंक्रमणको खतरालाई कुनैपनि भावुक कुराहरु गरेर लापरबाही नगरिने विषयमा मुख्यमन्त्रीहरुलाई स्पस्ट हुन आग्रह गरेको बताए । भिडियो कन्फ्रेन्समा कुनैपनि हिसाबले संक्रमण फैलिने स्थिति नहोस् भन्नका लागि सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले उचित ध्यान दिने विषयमा समेत छलफल भएको थियो ।

    नागरिकको जीवन रक्षाका लागि लकडाउन गरिएकोहुनाले जीवन रक्षामा केन्द्रीत हुने र नागरिकलाई दुख दिनका लागि लकडाउन गरिएको होइन भन्ने विषयमा स्पस्ट गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएको उनले बताए । सरकारले योजनाबद्ध रुपले काम गरेको स्पस्ट पार्दै कुनैपनि समय वा १५÷१५ दिनमा निर्देशन दिने तरिकाले काम नगर्ने र त्यसप्रकारको संयन्त्रको खोजि नगर्नपनि मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले आग्रह गरेको प्रेस सल्लाहकार थापाले बताए । जनतामा मनोबैज्ञानिक त्रास नहोस् भन्नका लागि सबै तहका सरकारले ध्यान दिनुपर्ने, क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, क्वारेन्टाइनमा बस्नुपर्नेलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार