मंगलबार, बैशाख १६ २०७७    
Galaxy Khabar
SKIP THIS

बहुमत गुमाएका ओली असन्तुष्ट पक्षको माग अनुसार अध्यक्ष र प्रधानमन्त्री कुनैपनि पद नछाड्ने

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, बैशाख १६ २०७७
  • बहुमत गुमाएका ओली असन्तुष्ट पक्षको माग अनुसार अध्यक्ष र प्रधानमन्त्री कुनैपनि पद नछाड्ने

    काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली संसदको अंक गणितमा जुटेका छन् । पार्टी कमिटीको सचिवालय र स्थायी समितिमा बहुमत गुमाएका ओली असन्तुष्ट पक्षको माग अनुसार अध्यक्ष र प्रधानमन्त्री कुनैपनि पद नछाड्ने बरु संसदीय दलमा आफ्नो बहुमतसिद्ध गर्ने रणनीतिमा लागेका हुन् । त्यसका लागि उनले खासगरी पूर्वमाओवादी धारका सांसदहरुलाई आफ्नो पक्षमा पार्ने प्रयास थालेका छन् ।

    १७४ सांसदमा कसका कति ?

    नेकपाका कुल १ सय ७४ जना सांसद छन् । त्यसमा पूर्वएमालेतर्फका १२१ र पूर्वमाओवादीतर्फका ५३ जना छन् । १२१ मध्ये ओली समूहका मात्रै ७८ जना छन् । बाँकी ४३ जना माधव नेपाल, वामदेव गौतम र झलनाथ खनाल समूहका छन् । संसदीय दलमा बहुमत कायमै गर्न ८८ सांसद चाहिन्छ । यसो हुँदा ओलीलाई १० जना सांसद अपुग हुन्छन् ।

    यस्तो अवस्थामा पूर्वमाओवादी समूहका केही सांसद आफ्नो पक्षमा पार्न सके आफू आरामले बहुमत कायमै राखेर प्रधानमन्त्रीबाट हट्न नपर्नेगरी योजना बनाइरहेका छन्, ओली । गौतम समूहका केही सांसदले पनि साथ दिने ओलीको बुझाइ छ । त्यसका उनले बालुवाटारमा केही सांसदहरुलाई बोलाएर आफूलाई साथ दिन आग्रह नै गरिसकेका छन् । सोमबारमात्रै झण्डै २ दर्जन सांसदहरुलाई बालुवाटारमा बोलाएर ओलीले जतिवेला जे पनि हुन सक्ने भन्दै साथ दिन आग्रह गरेका हुन् । पूर्वमाओवादी धारका लेखराज भट्टले ओलीलाई साथ दिने बताइसकेका छन् ।

    टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल लगायतका सांसदहरुलाई पनि ओलीले आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेका छन् । त्यसका लागि उनले विभिन्न सूत्रहरु परिचालन गरिरहेका छन् । ‘विभिन्न स्रोतबाट भेटघाटका लागि बालुवाटार बोलाइएको छ । तर पार्टीको विवाद माथिल्लो तहबाटै मिलाउनुपर्ने भएकाले म बालुवाटार गएको छैन,’ सांसद देवेन्द्र पौडेलले रातोपाटीसँग भने । प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रियसभाका सांसद दिनानाथ शर्मालाई पनि बालुवाटारमा बोलाएर भेटघाट गरेका छन् ।

    ‘राम्रो काम गर्दागर्दै पनि पार्टीबाट घेराबन्दीमा पारियो । म जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार छु । तर तपाईँहरुको साथ चाहिन्छ’, ओलीले सोमबार बालुवाटार बोलाएर सांसदहरुलाई भनेका थिए, ‘जतिबेला जे पनि हुनसक्छ तपार्इँहरु तयारी अवस्थामा बस्नु’ ओलीको प्रष्ट संकेत थियो । प्रफुल्ल मुद्रामा सांसदहरुमाझ प्रस्तुत भएका उनले अहिलेको अवस्थामा पार्टी एकढिक्का भएर जानुपर्ने आशय व्यक्त गरेका थिए ।

    त्यसअघि सोमबार बिहान नेता माधवकुमार नेपालसँगको भेटमा ओेलीले ‘तपाईँहरु बलिङ गर्नुस् म ब्याटिङ गर्छु’ भनेका थिए । यसको अर्थ संसदमा बहुमत देखाउन ओलीको नेपाललाई चुनौती थियो । यसअघि केही महिना पहिला पत्रकारहरुसँगको भेटमा ओलीले आफूमाथि सञ्चारमाध्यले खेदो खनेकाले आफूले पनि व्याटिङ गरेको बताएका थिए ।

    प्रधानमन्त्री ओलीले आफू निकटका उपत्यका बाहिर रहेका केही सांसदलाई काठमाडौं बोलाएका छन् । हाल ओली निकटका सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा तथा खगराज अधिकारी काठमाडौ बाहिर छन् ।उनीहरुलाई जे पनि पर्न सक्ने भन्दै काठमाडौं आउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै तयारी अवस्थामा बस्न खवर गरिएको छ । सांसद मण्डलले आवश्यक पर्दा आफू काठमाडौ आउन सक्ने बताए । ‘अहिले आइहाल्नुस् भन्ने कुरा त केही छैन । आवश्यक पर्दा आउन सकिन्छ, । सायद भोलि आउँछुहोला,’

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार