शुक्रबार, माघ ४ २०८१    
Galaxy Khabar
SKIP THIS

सरकारलाई १५ दिने अल्टिमेटम दिँदै निर्माण व्यवसायीहरुले भौतिकमन्त्री दाहाललाई बुझाए ज्ञापन पत्र

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, माघ ४ २०८१
  • सरकारलाई १५ दिने अल्टिमेटम दिँदै निर्माण व्यवसायीहरुले भौतिकमन्त्री दाहाललाई बुझाए ज्ञापन पत्र

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

    निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरुले मूल्य वृद्धि गरेको तथा भुक्तानी अभाव, र सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता हटाउन माग गर्दै मन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

    महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको समेत बताए । उनले प्रधानमन्त्री, विकासे मन्त्रालयका मन्त्री, सबै मन्त्रीहरु, राजनीतिक दलका अध्यक्षहरुलाई माग पूरा गर्न १५ दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने बताए । उनले व्यवसायीका माग सम्बोधन नभए महासंघले आगामी माघ १८ गते काठमाडौंको माईतीघर मण्डलामा धर्ना गर्ने घोषणा गरिसकेको बताए ।

    यसअघि महासंघ बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना मागहरु पूरा नभए माघ २० गते प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना दिने बताएको थियो । अध्यक्ष सिंहले त्यसपछि पनि माग सम्बोधन नभए माघ २१ गतेदेखि काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी पश्चिम नाका ठप्प पार्ने चेतावनी समेत दिए ।

    अध्यक्ष सिंहले भने,‘हामीले हाम्रा मागहरु राख्दै नेपाल सरकारका मन्त्रीज्युहरुलाई ज्ञापन पत्र बुझाउँदै छौं । अहिले भर्खरै हामीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बझाएका छौं । हामीले मुख्यसचिव एव भौतिक पूर्वाधार मन्त्रालयका सचिवज्युलाई समेत ज्ञापन पत्र बुझाइसकेका छौं । आजै २ बजे उपप्रधान एवं शहरी विकास मन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाउँदै छौं । सम्माननीय प्रधानमन्त्रीज्युलाई पनि आजै ज्ञापन पत्र बुझाउने हामी तयारी गर्दैछौं । हामीले बढी भन्दा बढी नेपाल सरकारका मन्त्रीज्युहरुलाई ज्ञापन पत्र बुझाउने र नेपालका राष्ट्रिय पार्टीका सभापतिज्युहरुलाई समेत ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । हामी सरकारलाई दिएको १५ दिने अल्टिमेटम र हाम्रा मागहरुको बारेमा ज्ञापन पत्र बुझाउँदै छौं । हाम्रा मागहरु पूरा नभएको अवस्थामा माघ १८ गतेदेखि हामीले काठमाडौंको माईतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्रीको निवास अगाडि धर्ना दिने र त्यसबाट पनि हाम्रो मागहरु सम्बोधन भएनन् भने माघ २१ गतेदेखि काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी नाका र पश्चिम नाका ठप्प पार्ने हाम्रो योजना छ ।’

    उनले त्यसपछि पनि सरकारले व्यवसायीहरुका माग सम्बोधन नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गरिने बताए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार