
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयसँग सम्बन्धित सबै ऐन र कानूनहरू एक वर्षभित्र संशोधन गरिसक्ने घोषणा गरेका छन् ।
आइतवार काठमाडौंमा ‘एक स्थानीय तह, एक हुलाक’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पुराना ऐन र कानूनकै कारणले सञ्चार मन्त्रालयले परिणाम देखिने गरि काम गर्न नसकेको बताएका हुन्।
उनले हुलाक सेवाको सुधारको लागि नयाँ ऐन र नीति नबनाइकन नहुने उल्लेख गर्दै सरकारले हुलाक नीति ल्याउने गरी काम गरिरहेको बताए ।
पुराना ऐन र कानूहरुको आफूअनुकुल नियमावली ल्याउँदै प्रयोग गरेको कारणले विभिन्न समयमा दुर्घटना हुने गरेको उनले बताए । सूचना र प्रविधिको क्षेत्रमा विश्वले ठूलो फड्को मारिसक्दा पनि हामी र ऐन र कानूनमा अल्झिदा मुलुकको समृद्धि र सुशासन कायम गर्न नसकिएको उनको भनाइ छ ।
उनले भने, ‘नेपालमा लोकतन्त्र आयो । गणतन्त्र आयो । संघीय गणतन्त्रात्मक व्यवस्था आयो । यो भन्दा सुदृढ व्यवस्था अहिलेसम्म संसारमा केही छैन । सबैभन्दा उन्नत खालको गणतन्त्र भनेको संघीय लोकतान्त्रिक गणतन्त्र हो । हाम्रो जस्तो मुलुकको लागि । त्यसकारण हामी यो वर्षभित्र पुराना ऐन, नीति र नियमहरुलाई परिवर्तन गरेर हाम्रो संविधान र हाम्रो व्यवस्थाले जे कुरा भनेको छ त्यो जनता र राष्ट्रको सेवा तथा उन्नति, समृद्धि र सुशासनको लागि काम गर्नुपर्छ ।’
उनले सबै स्थानीय तहहरुमा हुलाक सेवा पुग्नु आफैँमा ठूलो उपलब्धी भएको उल्लेख गर्दै प्रभावकारी ढंगले काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिए । उनले अबको पाँच वर्षभित्र सबै हुलाक कार्यालयहरुको भौतिक संरचना बनाउने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
