सोमबार, माघ १४ २०८१    

केपी ओलीको जन्मथलो तेह्रथुम पुगेर ढाका टोपीमा सजिए प्रचण्ड र वर्षमान, के-के छन् कार्यक्रम ?

  • GalaxyKhabar Desk

    सोमबार, माघ १४ २०८१
  • केपी ओलीको जन्मथलो तेह्रथुम पुगेर ढाका टोपीमा सजिए प्रचण्ड र वर्षमान, के-के छन् कार्यक्रम ?

    तेह्रथुम । केहि दिनयता राजधानी बाहिर सक्रिय रहेका प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार पूर्वी पहाडी जिल्ला तेह्रथुम पुगेका छन् ।

    सोमबार बिहान माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई साथमा लिएर अध्यक्ष प्रचण्ड सैनिक हेलिकप्टरमार्फत् तेह्रथुम पुगेका हुन् । स्वागतका क्रममा स्थानीयले प्रचण्ड र वर्षमानलाई ढाका टोपी लगाइदिएका थिए ।

    प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्नेछन् । त्यहाँबाट उनी प्रधामन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराई जानेछन् ।

    प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । उक्त स्थानमा २०५८ साल माघ २४ मा सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारण मारिएका थिए ।

    प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन् । मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको शालिक अनावरण गर्नेछन् ।

    दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने तयारी रहेको बताईएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार