
काठमाडौं । गणपूरक संख्या नपुग्दा पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो ।
बुधवार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा सांसदहरूको गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको समिति सभापति दीपक सिंहले जानकारी दिए ।
उनले समिति बैठक बस्नको लागि १४ जना सांसद आवश्यक भएपनि १२ जना मात्रै सांसद उपस्थित भएको बताए । उनले दुई जना नपुगेर १ घण्टासम्म कुरे पनि सांसदहरु उपस्थित नभएकाले बैठक स्थगित भएको बताए । उनले शहीद दिवस र सार्वजनिक विदा भएकाले सांसदहरु बाहिर जिल्ला जानुपर्ने भएकाले पनि नेपाली काग्रेसका सांसदहरुले बैठक सार्न आग्रह गरे पनि बैठक बोलाई सकेकाले स्थगित गर्न नसकिएको उल्लेख गरे ।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले पूर्वाधार समितिमा दुई ठूला जलविद्युत परियोजनाहरु मुगु कर्णाली र किमाथाङ्का अरुण परियोजना निजी क्षेत्रलाई दिने निर्णयका विरुद्ध परेको उजुरीका विषयमा मन्त्रालयको धारणा माग गर्नको लागि मन्त्रीलाई बोलाएको बताए ।
बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूचि थियो । छलफलका लागि ऊर्जामन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ समितिको सभाकक्षमा पुगेका थिए । तर सांसदहरूको कोरम नपुगेपछि ऊर्जामन्त्री र राज्यमन्त्री फर्किनु परेको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
