
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन्। बिहीबार नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले आईटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको उल्लेख गरे। उनले केही समयको असहज राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरू रोकिएको भएपनि अहिले विकास निर्माणका कामले गति पाएको भनेका छन्।
उनले भने, ‘अब आईटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको हरेक चिजको एउटा अभिन्न र महत्वपूर्ण अंग बनिसकेको छ। नेपाल अगाडि बढ्दैछ। अझ तिव्रताका साथ अगाडि बढ्न चाहिरहेको छ।’
देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको उनको भनाई थियो।
प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समायानुकुल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन सरकारले काम गरिरहेको भन्दै उनले भने, ‘यस बीचको केही अन्तरालको बहुत्तै असहज राजनीतिक अस्थिरता जस्ता कुराले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको सबैलाई थाहा छ। त्यस प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समायानुकुल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन र अर्को वर्षबाट हामी २०२६ बाटै अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्याउन चाहन्छौँ।’
प्रधानमन्त्री ओलीले आईटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने हिसाबले सरकारले अघि बढेको जानकारी दिएका छन्।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
