
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरु बढ्दै गएको बताएका छन् ।
आईतवार काठमाडौंमा पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण नेपाली समुदायमा गहिरो प्रभाव परेको बताए । नेपालले विकसित मुलुकले गरेको अन्यायहरुलाई सम्बोधन गर्न र दिगो तथा समतामुलक भविष्यतर्फ काम गर्न ल एशिया र अन्तर्राष्ट्रिय समुदायबाट समेत जलवायु न्यायका लागि एउटा सशक्त न्यायको अपेक्षा गरेको बताए ।
राष्ट्रपति पौडेलले भने, ‘आज लोकतन्त्रप्रति नेपालको प्रतिवद्धताले हामीलाई विश्वव्यापी रुपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तर्राष्ट्रिय मञ्चमा समेत महत्वपूर्ण भुमिका खेल्न सक्षम बनाएको छ । म यो अवसरमा नेपाल लगायत एशिया प्रशान्त क्षेत्रका मानव अधिकार रक्षकहरुको प्रशंसा गर्न चाहन्छु । हिमालयको मुटुमा अवस्थित नेपाल प्राकृतिक सौन्दर्य र श्रोत साधनले भरिपूर्ण देश हो । तर पछिल्लो समयमा जलवायु परिवर्तनका कारण हाम्रो समुदायहरुमा गहिरो प्रभाव परेको छ । जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरु बढ्दै गएका छन् । विकसित देशहरुको कार्यबाट उत्पन्न वातावरणीय ह्रासको परिणाम नेपालले भोगेको छ । हामी यि वातावरणीय प्रकोपका निर्दोष पीडित हौँ । यि अन्यायहरुलाई सम्बोधन गर्न र दिगो तथा समतामुलक भविष्यतर्फ काम गर्न हामीले ल एशिया र अन्तर्राष्ट्रिय समुदायबाट समेत जलवायु न्यायका लागि एउटा सशक्त न्यायको अपेक्षा गरेका छौँ ।’
राष्ट्रपति पौडेलले मानव अधिकार, सामाजिक तथा वातावरणीय न्याय समावेशी चरित्रका अधिकारका विषयवस्तुहरु न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि महत्वपूर्ण रहेको बताए। कानून व्यवसायीहरु विधिको शासनको पहरेदार र लोकतन्त्रको रक्षक भएको उल्लेख गरे ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
