
काठमाडौँ । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणकारे सांसदहरुले सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुको मृतक विद्यार्थी र उनको परिवारलाई न्याय दिन उच्चतरीय राजनीतिक एवं कुटनीतिक वार्ता गर्न माग गरेका छन् ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको कुटनीतिक असक्षमताका कारण उक्त विश्वविद्यालयमा असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरेको बताएका छन् । उनले मृतक विद्यार्थीको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीहरुमाथि भएको अमानवीय क्रियाकलापको घोर निन्दा गरेका छन् । सिंगो संसदले उक्त घटनालाई गम्भिरतापूर्वक लिनुपर्ने बताए।
उनले भने , ‘भारतको ओडिसा राज्यको एक विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भयो र त्यसपछि नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै आन्दोलन गर्नुभयो । आन्दोलनका क्रममा त्यहाँबाट अमानवीय व्यवहार गरियो र सिंगै नेपाल र नेपालीमाथि धावा बोलियो । तर सरकारको कुटनीतिक असक्षमताका कारण त्यहाँ अहिलेपनि असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नु परिराखेको छ । म प्रकृति लम्सालको मृत्युप्रति दुःख व्यक्त गर्न चाहन्छु र हाम्रो दल नेकपा (माओवादी केन्द्र)को तर्फबाट घोर निन्दा गर्न चाहन्छु । सरकारको कुटनीतिक पहलकदमीका लागि जोडदार माग गर्न चाहन्छु । प्रकृति लम्सालको परिवारलाई उचित न्याय दिनका लागि उच्चस्तरीय राजनीतिक संवादको यथाशिघ्र थालनि गरेर समस्याको समाधान खोज्नका लागि जोडदार माग गर्दछु । सिंगो संसदले यो घटनालाई गम्भिरतापूर्वक लिनुपर्दछ ।’
त्यस्तै, बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालको कुटनीतिक रणनीति कमजोर भएको भन्दै सरकारको आलोचना गरे । उनले नेपालको कुटनीतिक कमजोरीकै कारण विश्वविद्यालयका चौकीदारले समेत नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गरिरहेको बताए।
उनले सरकारको दुई तिहाईको दम्भ संसद भवन र सिंहदरबार बाहेकका नागरिकले अनुभव गर्न नपाएको बताए । उनले देशको सेवा प्रवाहमा समेत सुधार नभएको बताएका छन् । उनले मुलुकको कुटनीतिक संचरना नै सुधार गर्न जरुरी रहेको बताए।
उनले भने, ‘म ओडिसामा भएको घटना एउटा घटनामात्र नभईकन यसको प्रवृत्ति र यसको अचरणमा जान चाहन्छु । हाम्रो डिप्लोम्याटिक रणनीति कति कमजोर भयो कि छिमेकी देशको स्कुलको चौकीदारले पनि नेपाली नागरिकलाई सजिलै पिटिदिन पाए । र तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको बजेट जति पनि छैन भनेर हेप्न पाए । हामी दुई तिहाईको दम्भ यो सिंहदरबार र सदनभन्दा बाहिर हाम्रो नागरिकले त केही पनि फिल गर्न पाएको रैनछ । कता के कन्फिडेन्स छैन । हाम्रो सेवामा सुधार केही पनि छैन । विदेशी देशमा हाम्रो आत्मसम्मान र सुरक्षा कतैपनि छैन । हाम्रो संरचना नै पुनर्निर्माण गर्नुपर्छ कि भन्ने प्रश्ताव गर्न चाहन्छु ।’
सभाको आकस्मिक समयमा सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
