
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो टिप्पणी गरेका हुन् । उनले कार्यकारी निर्देशक घिसिङ सरकारलाई नटेर्ने र सञ्चालका समितिका निर्णयहरु कार्यान्वयन गर्ने नगरेको आरोप लगाए ।
उनले विद्युतको क्षेत्रमा सतप्रतिशत लगानी सरकारकै भएको समेत उल्लेख गरे । उनले उहाँ आएपछि लोडसेडिङ मुक्त नभई पहिले नै ट्रान्समिसन लाइन बनेका कारण भारतबाट विद्युत आयात गरिएको बताए । उनले कुलमानले राम्रो काम गरेको भए विश्लेषण गरेर पुरस्कार गर्न सकिने भएपनि देवता मान्न नहुने बताए ।
उनले भने, ‘अहिले नेपाल विद्युत प्राधिकरणका एमडीको कारणले लोडसेडिङ नभएर उत्पात भएजस्तो मान्नुहुन्छ । तत्कालिन अवस्थामा ८ वर्ष अगाडि नेपालको आवश्यकता लोडसेडिङ हुन नदिनका लागि साढे चार सय मेगावाटको आवश्यकता रहेछ । त्यो कम भएको विद्युत भारतबाट ल्याइयो । भारतबाट विद्युत ल्याउनका लागि त पहिले नै ट्रान्समिसन लाइन बन्नुपथ्र्यो होला नि । त्यो ट्रान्समिसन लाइन कसका कारणले बनेको हो ? अनि उहाँ देवता हुनुभयो ? अचम्म लाग्छ । उहाँले केही राम्रो काम गर्नुभयो होला । त्यसका लागि पुरस्कार के दिनुपर्छ दिउँला । सञ्चालक समिति निर्णय गर्छ उहाँ कार्यान्वयन गर्नुहुन्न । सरकारलाई टेर्नुहुन्न । सतप्रतिशत लगानी सरकारको छ । कर्मचारीहरु भाषण गर्दै जानुहुन्छ । तपाईले नोटिस गर्नुपर्छ उहाँको गतिविधिलाई यस्ता अराजक गतिविधिलाई सरकारले सधैँ हेरेर बस्ने कुरा त हुँदैन । लगाम त लाउनुपर्छ । तर एउटा कर्मचारीको विषयमा सम्मानित विषयमा किन यति ठूलो कुरा गर्नुपरेको मलाई अचम्म लागेको छ ।’
नेपाल सरकारको एक कर्मचारीको विषयलाई लिएर तथ्यहिन कुरा नगर्न उनले सबैमा आग्रह समेत गरे।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
