
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काँग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौति दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन् ।
शुक्रवार पार्टी केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाएका हुन् ।
साना र प्रतिष्पर्धी दलहरुलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा भइरहेको उनको भनाइ छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान मिच्न बानी परेकाहरु कानून मिच्न पनि त्यत्ति नै अग्रसर देखिएको टिप्पणी गरे । उनले सरकारले संसदको नियम र नियमावली समेत मिच्ने काम गरिरहेको आरोप लगाए । उनले वर्तमान सरकार आलोचकको घाँटी निमोठ्ने गरी प्रश्तुत भइरहेको समेत उल्लेख गरे। उनले देशभित्र छुवाछुत र महिला बलात्कारका घटनाहरु बढिरहेको भएपनि अपराधीहरु दण्डित नभएको जिकिर गरे ।
उनले भने, ‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौति दिँदै दुईदलीय साशन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ । दुई दलीयको नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न कुरा छैन । यी सबै कुराहरुको सन्दर्भमा साना दलहरुलाई समाप्त पार्ने, प्रतिष्पर्धी दलहरुलाई समाप्त पार्ने र अनेक किसिमका नियन्त्रणका तौर तरिका अपनाएर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा गरिरहेको छ । संविधानलाई मिच्ने बानि परिसकेका व्यक्तिहरु कानून मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन् । संसदको नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहको छन् । र आफ्ना आलोचक कोही छन् भने तिनिहरुको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् । देशको समस्याप्रति कुनै वास्ता छैन । जनताको समस्याप्रति कुनै चासो छैन । देश विकासप्रति कुनै गम्भिरता छैन ।’
उनले पार्टीबारे समाजमा विभिन्न कुप्रचारहरु गरिएको उल्लेख गर्दै त्यस्ता कुप्रचारको भ्रममा नेपर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
