
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ उद्घाटनका क्रममा आफूले बोल्न सुरू गर्नै लाग्दा मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भएको बताएका छन् ।
चितवनको माडी पुगेका उपाध्यक्ष श्रेष्ठले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका हुन् ।
उनले जनतासँग माओवादी तराई–मधेस जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे । श्रेष्ठले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको भावनालाई सकारात्मक रूपमा लिँदै सार्वजनिक रूपमा नै क्षमायाचना गर्न चाहेको बताए ।
श्रेष्ठले भने, ‘मैले सुरूआतमात्रै के गरेको थिएँ अलिकति मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भयो त्यसले मलाई बिझायो नै। त्यो सत्य हो, त्यसलाई सामान्य घटनाकै रूपमा लिन आग्रह गर्छु । मैले प्रस्तुत गरेपछि शुभेच्छुक, शुभचिन्तक र आम सर्वसाधारणले पनि त्यसो नगरेको भए पनि हुन्थ्यो। सहेको भए पनि हुन्थ्यो भन्नुभएको छ। जसलाई त्यस्तो नभएको हुन्थ्यो भन्ने परेको छ जसलाई चित्त दुखेको छ। ती सबैप्रति सकारात्मक धारणा राख्दै क्षमा याचना गर्छु।’
उक्त कार्यक्रममा भएको घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकताबद्ध ढङ्गले अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।
खास भएको यस्तो थियो
झापाको कचनकवलमा भएको उद्घाटन समारोहमा शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । सम्बोधन गर्नेक्रममा आयोजकसँग रिसाएका श्रेष्ठ सोमबार साँझ झापाको बाह्रदशीमा भएको कार्यक्रममा देखिएका थिएनन् ।
मंगलबार बिहान मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा भएको कार्यक्रममा समेत उनी देखिएनन् । मोरङको कार्यक्रम छाडेर उनी चितवन पुगेका हुन् । श्रेष्ठ रिसाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
