मंगलबार, फाल्गुन २० २०८१    
Galaxy Khabar
SKIP THIS

मेलम्चीको पाइप फुटेर सडक अवरुद्ध भएपछि खानेपानीमन्त्रीको निर्देशन- थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्नु

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, फाल्गुन २० २०८१
  • मेलम्चीको पाइप फुटेर सडक अवरुद्ध भएपछि खानेपानीमन्त्रीको निर्देशन- थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्नु

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं स्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी पानी सुचारु गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षती भएको खबर पाएपछि मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मतगरी नागरिकलाई पानी वितरण गर्न निर्देशन दिएका हुन् ।

    मन्त्री यादवले भने,’हाल म नेपाल र भारत सरकारबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्लीमा छु । तथापि, मैले सम्बन्धित निकायलाई तत्काल पाइप मर्मत गरी मेलम्चीको पानी सुचारु गर्न निर्देशन दिइसकेको छु ।’

    मन्त्री यादवको निर्देशन पश्चात अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले मर्मत कार्य तीव्र रूपमा अघि बढाइ आजै पानी वितरण गरिने मन्त्रालयले जनाएको छ ।

    आज बिहानै मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न हुनुका साथै सडक अवरुद्ध भएको छ । पाइप फुटेपछि सडकपेटीमा पनि क्षति पुग्नुका साथै वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रहेको रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरुमा पानीको भेल पसेर जलमग्न भएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार