
काठमाडौँ । नेपालमा सुक्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा २ सय ३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावासलाई प्रस्ताव पठाइएको छ । उद्योगहरूमा लोडसेडिङको अवधि बढ्दै गएपछि बुधबार साँझ ६ देखि राति १० बजेसम्मका लागि बिजुली आपूर्ति गर्न भारतलाई अनुरोध गरिएको हो ।
हाल नेपालमा औद्योगिक क्षेत्र दैनिक १२ घण्टासम्म लोडसेडिङको मारमा परेको छ । भारतबाट हाल दैनिक ७ सय मेगावाटभन्दा बढी बिजुली आयात भइरहे पनि पछिल्लो समय भारतले बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्र बिजुली उपलब्ध गराउने नीति लिएको छ। जसका कारण उद्योगहरू प्रभावित भएका छन् ।
ऊर्जामन्त्री दीपक खड्काले नेपालमा जलविद्युत् उत्पादन सुक्खायाममा घट्ने भएकाले साँझको समयमा बिजुली आपूर्तिका लागि भारतलाई अनुरोध गरिएको बताए ।
‘घरायसी उपभोक्तासँगै औद्योगिक क्षेत्रलाई पनि सहज बनाउने प्रयास स्वरूप भारतलाई अनुरोध गरिएको छ,’ ऊर्जामन्त्री खड्काले भने, ‘सकारात्मक संकेत देखिएकाले निकट भविष्यमा समस्या केही हल हुने विश्वास छ ।’
परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतीय विदेशमन्त्री एस जयशंकरलाई साँझको समयमा बिजुली आपूर्ति सहज बनाउन अनुमति दिन आग्रह गरिसकेको र भारतीय दूतावासले समेत नेपाललाई आवश्यक सहयोग गर्न भारत सरकारसँग समन्वय गरिरहेको जनाइएको छ ।
ऊर्जा मन्त्रालयका अनुसार नेपालको अधिकांश जलविद्युत् परियोजना ‘रन अफ द रिभर’ भएकाले सुक्खायाममा उत्पादन घटेर १ हजार मेगावाटमा सीमित हुन्छ । यस्तो अवस्थामा भारतबाट बिजुली आपूर्ति आवश्यक पर्ने भएका कारणा सरकारले दीर्घकालीन रूपमा ठूला जलविद्युत् परियोजनालाई प्राथमिकता दिने नीति लिएको छ ।
नेपाल विद्युत प्राधिकरणले भारतीय एक्स्चेन्ज मार्केटबाट बिजुली खरिद गरी आन्तरिक माग पूर्ति गर्ने प्रक्रिया अघि बढाइरहेको छ । सुक्खायामका बेला भारतीय बजारबाट ‘सोलार आवर’ मा मात्र बिजुली आयात गर्न सकिने हुँदा उद्योगहरूलाई लोडसेडिङको चुनौती थपिएको छ ।
भारतले साँझको समयमा २ सय ३० मेगावाट बिजुली उपलब्ध गराउने निर्णय गरे नेपालका उद्योगहरूलाई ठूलो राहत पुग्ने ऊर्जा मन्त्रालयले जनाएको छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
