
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण गर्न वैदेशिक ऋण लिनुको विकल्प नभएको बताएका छन्।
बिहीवारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारले देशलाई गरिबीको दयनीय अवस्थाबाट छिटो मुक्त गर्न काम गरी रहेको दाबी गरे।
असहज आर्थिक अवस्थामा गुज्रिरहेको अवस्थामा वर्तमान सरकार बनेको बताए। उनले उत्पादकत्व बढी भएका ठाउँमा लगानी गर्न ऋणको रकम खर्च भइरहेको बताए। कतिपय विकास निर्माणका काम अन्तिम चरणमा रहेको तर ऋण बाहेक अर्को विकल्प नभएको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले भने‚ ‘नेपाल पछाडि परेको छ, गरिब छ। अझ निकै असहज आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा अहिलेको सरकार बनेको छ। अहिले लिएको ऋण देश विकासकै लागि हो। बढी उत्पादन र बढी उत्पादकत्व हुने ठाउँमा खर्च गर्न र बढी विकासका काममा तीव्रता दिन ऋण लिने काम गरिएको छ। ऋण बाहेक अर्को उपाय छैन ऋणकै अंश फेज १, २ र ३ गरी अहिले फेज ३ मा ऋण नलिएर त्यसलाई असफल बनाउन सकिँदैन। त्यसैले ऋण लिन बाध्य हुनुपर्ने अवस्था रहेको हुन्छ।’
प्रधानमन्त्री ओलीले नेपाल सरकारका कर्मचारी लोकसेवा आयोगमार्फत नियुक्ति गरिने भएकाले सरकारले आफ्नो मान्छे राख्यो भन्ने भनाइ आरोप मात्रै भएको बताए। प्रधानमन्त्री ओलीले कर्मचारीको ज्ञान, सीप, अनुभव र कार्यक्षमताको आधारमा पदस्थापन तथा सरुवा गर्ने गरिएको बताए।
उनले कानुन विपरीत काम गर्ने कर्मचारी दण्डित भइरहेको दाबी गरे।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
