
काठमाडौं, २०८१ चैत्र ९ – काठमाडौंस्थित भारतीय राजदूतावासमा मिति २०८१ चैत्र ९ गते २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा छात्रवृत्तिबाट लाभान्वित करिब २०० विद्यार्थीहरूको सहभागिता रहेको थियो।
स्वर्ण जयन्ती छात्रवृत्ति दिवस समारोहको अवसरमा विश्वविद्यालय अनुदान आयोग, नेपालका अध्यक्ष डा. देवराज अधिकारी, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. अमरप्रसाद यादव, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजु कुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. ध्रुव कुमार गौतम, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. शारदा थपलियाले आफ्नो गरिमामय उपस्थिति जनाउनुभएको थियो। साथै, विभिन्न शैक्षिक संस्थानका डीनहरू तथा प्रतिष्ठित विद्यालयका प्रधानाध्यापकहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले २३औं ब्याचका मेधावी विद्यार्थीहरूलाई बधाई दिँदै, उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थिहरूलाई “राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर” प्रदान गर्नुभएको थियो। आफ्नो सम्बोधनमा, राजदूत श्रीवास्तवले विद्यार्थीहरूलाई उत्कृष्टताको लागि निरन्तर प्रयास गर्न प्रेरित गर्दै भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेशन सेन्टरहरू तथा अन्य सहकार्यका अवसरहरूको फाइदा उठाउन सुझाव दिनुभयो।
स्वर्ण जयन्ती छात्रवृत्ति योजना भारत-नेपाल आर्थिक सहयोगको ५० वर्षको स्मरणमा सन् २००२ मा स्थापना गरिएको हो। हालसम्म यस छात्रवृत्ति कार्यक्रमबाट नेपालभरिका ७७ जिल्लाका ३५०० भन्दा बढी नेपाली विद्यार्थीहरू लाभान्वित भएका छन्। यस वर्षका छात्रवृत्ति प्राप्त विद्यार्थीहरू नेपालका ७५ जिल्लाबाट प्रतिनिधित्व गरेका छन्, जसमा एक तिहाइ छात्राहरू रहेका छन्। विशेष रूपमा, यस वर्ष ३ जना भिन्न क्षमता भएका विद्यार्थीहरूलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ।
भारत सरकारले नेपाली विद्यार्थीहरूलाई इन्जिनियरिङ, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ, आयुर्वेद, नृत्य, रंगमञ्च तथा प्रदर्शन कलालगायत विभिन्न क्षेत्रहरूमा अध्ययनका लागि वार्षिक करिब १,५०० छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। यी छात्रवृत्तिहरूले विद्यार्थीहरूलाई भारतका प्रतिष्ठित शैक्षिक संस्थानहरूमा अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै नेपालमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि कार्यक्रमहरूमा अध्ययन गर्न मद्दत पुर्याउँदै आएका छन्। सन् २००१ यता भारत सरकारद्वारा नेपालमा सञ्चालित विभिन्न छात्रवृत्ति योजनाहरूबाट करिब ४०,००० नेपाली विद्यार्थीहरू लाभान्वित भइसकेका छन्।
भारत र नेपालबीचको शैक्षिक सहयोग, क्षमता निर्माण तथा शैक्षिक साझेदारीले दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउनुका साथै जनस्तरमा सम्बन्धलाई सुदृढ गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमहरू नेपालको मानव संसाधन विकासमा सहयोग पुर्याउने भारत सरकारको प्रतिबद्धताको अभिन्न हिस्सा बनेका छन्।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
