
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको सन्देशले देशको राजनीतिक तापक्रम एकाएक बढाइदिएको छ । शाहको सन्देशले राजावादीहरूमा उत्साहको सञ्चार गरेको छ भने गणतन्त्रवादीहरूमा चासो थपिएको छ ।
शाहको पक्षमा पोखराबाट काठमाडौं फर्किने क्रममा देखिएको विशाल जनसागरपछि अझ नेपालको राजनीतिमा अहिले नयाँ तरंग चलेको छ ।
परिणामस्वरुप यहीँ चैत १५ गते गणतन्त्रवादी र राजावादी बिचमा सडकमा प्रर्दशन गर्ने पक्का भएको छ । अब दुबै पक्ष सडकमा उत्रिने तयारी गरेका हुन् ।
राजावादीहरू राजसंस्थाको पुनर्बहालीलाई एजेन्डा बनाएर आन्दोलनमा उत्रँदा गणतन्त्र पक्षधरहरू पनि संविधान र वर्तमान व्यवस्थाको रक्षाका लागि प्रतिरोधी कदमको निर्णय गरिसकेका छन् ।
यस्तोमा देशको सडकमा राजनीति थप तातिने संकेत देखिएको छ । राजसंस्था र गणतन्त्रको पक्षमा हुने छुट्टाछुट्टै प्रदर्शनका लागि स्थानीय प्रशासनले स्थान निर्धारण गरेको छ ।
प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधर (समाजवादी मोर्चा) नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको (नेकपा) लाई भृकुटीमण्डपमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’लाई प्रदर्शन गर्न तीनकुने स्थान तोकिएको छ । तर, राजसंस्थाको पक्षमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रदर्शनबारे प्रशासनलाई जानकारी गराएको छैन ।
प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । गणतन्त्रवादी र राजावादीबीचको सम्भावित मुठभेडको जोखिमलाई लिएर सुरक्षा निकायहरू सतर्क बनेका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
