
काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्षमुनिका विपन्न बालबालिकाको मुटुरोगको निःशुल्क उपचार हुने भएको छ ।
सञ्चालक समिति अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बैठकमा शहीद गङ्गालालमा आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्नुभएको अस्पतालका कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिए ।
अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटुरोग उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार रुपैयाँ सहायता दिँदै आइरहेको छ ।
उपचार लिनेको सङ्ख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक स्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।
सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप स्रोतको खोजी गर्न पालिकासँग समेत सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि सञ्चालक समिति सदस्य दीपकराज सापकोटालाई जिम्मेवारी तोकेको छ ।
नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको अध्ययनले देखाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
