
काठमाडौँ । नेपाल राष्ट्र बैंक आइतबारदेखि गभर्नरविहीन भएको छ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आजै सकिएको हो।
अधिकारीले शुक्रबार आफ्नो पाँचबर्से कार्यकालको उपलब्धि प्रस्तुत गरेर बिदा भए पनि गभर्नर नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।
सिफारिस समितिको बैठक बस्न नसक्दा सोमबार नयाँ गभर्नर पाउने सम्भावना नभएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक सम्मेलनमा सहभागी हुन गएपछि गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेन। उनी शनिबार थाइल्यान्डबाट स्वदेश फर्किएका छन्। ओली स्वदेश फर्किए पनि कांग्रेस र एमालेबीच सहमति नहुँदा नियुक्ति हुन नसकेको हो।
गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा पूर्वगभर्नर विजयराज भट्टराई र अर्थविद् डा। विश्व पौडेल सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो।
अर्थ मन्त्रालय स्रोतका अनुसार समितिमा नयाँ गभर्नरका लागि छ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना र बमबहादुर मिश्र, सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे, पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठ र ज्ञानेन्द्र ढुंगाना रहेका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
