
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा चाहिन्छ भनेकै कारण सरकारले मानिसहरुलाई थुन्ने हो भने आफूहरु लाखौंको संख्यामा थुनिन तयार रहेको बताएका छन् ।
आज बल्खुमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सरकारले राजा चाहिन्छ भनेकै भरमा थुन्ने हो भने आफूहरुको लागि जेल खाली गरिराख्न आग्रह गरे ।
अध्यक्ष लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नामा देशमा लुटतन्त्र मच्चाइरहेका नेताहरुको बारेमा पनि आफूहरुले राम्रोसँग हेरिरहेको बताए । उनले गणतन्त्रवादी नेताहरुलाई आफ्नो लागि पनि राम्रो जेल बनाएर राख्न सुझाव दिए । अध्यक्ष लिङ्दनेले त्यो दिन आउने ठोकुवा गरे ।
‘राजा चाहिन्छ भनेको कारण मानिसहरुलाई थुन्ने हो भने हामी लाखौं मानिसहरु थुनिन तयार छौं । जेल खाली गर्नुस् हाम्रा लागि । तर, यो संगसँगै याद राख्नुस्, तपाईँहरुले देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा तपाईँहरुले देशमा जुन प्रकारको लुटतन्त्र मच्चाएर राख्नुभएको छ, त्यसलाई हामीले राम्रोसँग हेरेका छौं । तपाईँहरु आफू बस्ने जेल पनि राम्रो बनाएर राख्नुस् । आउँछ, त्यो दिन आउँछ,’ उनले भने ।
अध्यक्ष लिङ्देनले गत चैत १५ गतेको घटना छानविनको लागि निष्पक्ष न्यायिक आयोग गठन हुनुपर्ने बताए । सर्वोच्च अदालतका पूर्व न्यायाधीश, नागरिक समाज र मानव अधिकारको क्षेत्रमा काम गरेका मानिसहरु संलग्न निष्पक्ष आयोग गठन गरी घटनाको सत्यतथ्य बाहिर ल्याइनुपर्ने उनको माग छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
