
२०७८ चैत २८, काठमाडौं — हङकङमा जारी चार राष्ट्र सम्मिलित टी-२० अन्तर्राष्ट्रिय (टी-२०आई) सिरिजमा नेपालले कुवेतमाथि कीर्तिमानी जित दर्ता गर्दै प्रतियोगिताको दोस्रो लगातार जित हात पारेको छ। बिहीबार सम्पन्न खेलमा नेपालले १८६ रनको चुनौतीपूर्ण लक्ष्य ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्दै टी-२०आई क्रिकेटमा इतिहास रच्यो। यो नेपालको टी-२०आई इतिहासमा सबैभन्दा ठूलो सफल लक्ष्य पछ्याउने प्रदर्शन हो। यसअघि मलेसियाविरुद्ध १६६ रनको लक्ष्य पछ्याउनु नेपालको उच्चतम सफल रन चेज थियो।
नेपालका ओपनर कुशल भुर्तेलले विस्फोटक ८१ रन बनाए भने आसिफ शेखले ५३ रनको उल्लेखनीय योगदान दिए। यी दुईबीच पहिलो विकेटका लागि १२७ रनको साझेदारी भयो, जुन टी-२०आई क्रिकेटमा नेपालको अहिलेसम्मकै सर्वोच्च ओपनिङ साझेदारी हो। यसअघि सन् २०२१ मा नेदरल्याण्ड्सविरुद्ध ११६ रनको साझेदारी नेपालको उच्चतम थियो।
पछिल्लो चरणमा दीपेन्द्रसिंह ऐरीले १२ बलमा आक्रामक ३१ रन बनाउँदै नेपालको जित सुनिश्चित गरे। कुवेतका बलर यासिन पटेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने मोहम्मद सफीक र मोहम्मद असलमले समान १–१ विकेट झारे।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १८५ रन बनाएको थियो। कुवेतका क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए भने मीत भावसरले ३५, बिलाल ताहिरले ३२ र रविजा सन्दरुवानले २६ रनको योगदान दिए।
१० ओभरमा ९७ रन बनाएको कुवेतले सुरुआतमा मजबुत पारी खेले पनि मध्यक्रममा नियमित अन्तरालमा विकेट गुमाउँदा २०० रनको आंकडा पार गर्न सकेन।नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट हात पारे।
ललित राजवंशी र कुशल भुर्तेलले समान रूपमा १–१ विकेट लिएका थिए। यस जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। प्रतियोगितामा नेपाल, हङकङ, कतार र कुवेत सहभागी छन्। बुधबार सम्पन्न खेलमा नेपालले कतारलाई तथा कुवेतले हङकङलाई पराजित गरेका थिए।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
