
काठमाडौं । काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार भएका घटनाका नाइके दुर्गा प्रसाईलाई पक्राउ गरेर झापा ल्याइएको छ ।
बिहीबार भारतको आसामबाट पक्राउ परेका उनलाई आज बिहान नेपाल प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो ।
उनलाई आजै जहाजमा काठमाडौं ल्याउने तयारी रहेको बताइएको छ । स्रोतका अनुसार प्रहरीको बिशेष ब्यूरोले भारतीय अधिकारीसँग समन्वय गरी उनलाई पक्राउ गरी नेपाल ल्याएको हो ।
उनलाई पक्राउ गर्न गएको ब्यूरोको टोली काठमाडौं आइसकेको छ। भारतमा पक्राउ परेको भन्दा पछि मुद्दामा समस्या हुने भएकाले प्रहरीले यस विषयलाई गोप्य राखेको छ। कुन नाकाबाट ल्याइएको समेत अहिलेसम्म खुलाइएको छैन ।
प्रसाईंमाथि प्रदर्शनमा हिंसा भड्काएको आरोप छ । उनी गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका ‘कमान्डर’ थिए । प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।
सो घटनामा राप्रपाका नेतहरु रबिन्द्र मिश्र, धवलशमशेर राणा लगायत ७० भन्दा धेरैलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
