
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिराहामा यौन दुव्र्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न निर्देशन दिएका छन् ।
चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
सो घटनाबारे चासो राख्दै गृहमन्त्री लेखकले छानबिन गर्न आईजीपी दीपक थापालाई निर्देशन दिएका हुन् ।
यौन दुर्व्यवहार भएको लामो समयसम्म प्रहरीले उजुरी लिन मानेको थिएन भने उजुरीपछि केही व्यक्तिले मिलापत्र गर्न दबाब दिँदै आएका थिए । श्रीमान् वैदेशिक रोजगारीमा भएकाले उनी छोरीसहित माइतीमै बस्दै आएकी थिइन् ।
घटना मुचुल्का गरी शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय महेशपुर पतारले जनाएको छ ।
प्रहरीका अनुसार घरमा कोही नभएको अवस्थामा आनन्दी छानोमा सल बेरेर झुन्डिएको अवस्थामा भेटिएकी हुन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
