
काठमाडौँ । पेरुको एक अदालतले पूर्वराष्ट्रपति ओलान्टा हुमालालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गर्दै १५ वर्षको जेल सजाय सुनाएको छ ।
पूर्वराष्ट्रपति हुमालाले सन् २००६ र २०११ मा आफ्नो चुनावी अभियानका लागि ब्राजिलियन निर्माण कम्पनी ओडेब्रेक्टबाट अवैध रूपमा रकम स्वीकार गरेका लिमाको राजधानीमा रहेको अदालतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अदालतले हुमालाकी पत्नी नादिन हेरेडियालाई पनि १५ वर्षको जेल सजाय सुनाएको छ । ६२ वर्षीय हेरेडियालाई ब्राजिलले शरण दिएको र त्यहाँ उनलाई छोरासँग यात्रा गर्न सुरक्षित हुने पेरुको विदेश मन्त्रालयले जनाएको छ ।
अभियोजकहरूले हुमालालाई २० वर्ष र हेरेडियालाई साढे २६ वर्षको जेल सजाय माग गरेका थिए । तीन वर्षभन्दा बढी समयसम्म चलेको मुद्दाको सुनुवाइपछि अदालतले मङ्गलवार लामो समयदेखि प्रतिक्षा गरिएको फैसला सुनाएको हो ।
हुमाला सन् २०११ देखि २०१६ सम्म पेरुको राष्ट्रपति थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
